Saturday, December 17, 2022

हार्भडमा गगन थापा : ज्ञानको भोक झन् बढ्यो

दिनेश कार्की र मनोज अधिकारी 

 

बष्टन, (चैत २०) गगन थापाको एउटा थ्योरी छ, आइ नो, आइ डन्ट नो । उनको त्यही थ्योरीले केही नयां विषय जान्न र अध्ययन गर्न उनमा हुट्हुटी जगाइरहन्छ । थापालाई त्यही हुट्हुटीले अहिले अमेरिकास्थित विश्व विख्यात् हार्भर्ड विश्वविद्यालय ल्याइपुर्याएको छ । 


देशका युवा नेता गगन थापाको सोच र राजनीतिक विचार अभिव्यक्तिसँग परिचित सबैलाई अहिले चासोको विषय छ, हार्भर्डको अध्ययनले उनलाई के दियो ? थापाले भने, एक लाइनमा भन्नुपर्दा केही कुरा दियोभन्दा पनि यसले त झन् ज्ञानको भोक पो बढायो । यो पटकको अध्ययनले उनलाई ज्ञानको सागरमैं रहेको अनुभूति दिलाएको रहेछ । त्रिचन्द्र कलेजबाट राजनीतिशास्त्रमा डिग्री हासिल गरेका थापा अहिले हार्भर्ड विश्वविद्यालयको ग्लोबल लिडरसिप एण्ड पब्लिक पोलिसी फर द ट्वेन्टी फस्र्ट सेन्चुरी नामक कोर्ष गर्दैछन् । प्रतिपक्षीको सांसदको भूमिकामा सशक्त रुपले संसदमा पनि प्रस्तुत हुने थापालाई नेपालमा हुँदा अध्ययनका लागि समय निकाल्न निकै गाह्रो थियो । त्यसमाथि पार्टी राजनीतिका क्रममा बेला बेला देश विदेश दौडाहा छंदैछ । 


हार्भड स्वायरको चर्चित पुस्तक पसल हार्भड कुपको तेस्रो तल्लामा आफ्नो अध्ययन अनुभव बाढिरहेका उनी आफ्नी जीवनसाथी अञ्जना केसीलाई धन्यवाद् दिइरहेका थिए । उनले हार्भडबाटै अन्जनालाई फोन गरेर भनेछन्, जुन विषय अध्ययनका लागि हार्भड जान तिमीले प्रेरित गर्याै र सधैं झक्झक्याइरह्यौ त्यसका लागि धेरैै धन्यवाद् । 

यसपालीको यो कोर्स गर्न एकदमैं हौसला मेरी श्रीमीतले दिएकी हुन्, थापाले सुनाए, उनले यसपटक चाहिं जे भए पनि छोडेर कोर्स गर्न हार्भर्ड जानु भनिन् । नेपालका तत्कालिन प्राथमिकताले गर्दा गतवर्ष उनको यस्तै कोर्स छुटेको थियो । 


उनको यो कोर्षमा सँगसँगै अध्ययन गर्न विश्वका राजनीति, अर्थतन्त्र, सामाजिक नेतृत्वका विभिन्न ७० व्यक्तित्व छन् । ती सहपाठी भेटेपछि थापाले थुप्रै रोचक तथ्य समेत संगाल्न पाए । तीमध्ये कतिपय सहपाठी उनलाई कल्पना गरेभन्दा विल्कुल फरक लागे । त्यसमध्ये राजनीतिमा लागेका १२ जनाको उनीहरुको एउटा अनौपचारीक समूह छ जसमा उनीहरुको बरोबर अन्तरक्रिया हुने गर्छ । त्यसमध्ये धेरैजना त राष्ट्रपतिको पदका लागि चुनाव लडेका नेता छन् । 


कुराकानीका सन्दर्भमा थापाले धेरैमध्येको एउटा रोचक प्रसंग सुनाए । परिचयका क्रममा प्राइसवाटर हाउस कुपर्समा काम गर्ने भनेर परिचय गर्ने एक सहपाठीसँग भेट भयो । नाम रहेछ मोन्टेनेग्रोका इगोर लुसिक । आफ्नो परिचय दिंदा उनले पहिले सरकारका काम गरेको अनुभव रहेको बताएछन् । थापालाई लागेछ, सरकारी कार्यालयमा कुनै पदमा काम गरेका होलान् भन्ने । जिज्ञासाबस् सोधिहालेछन्, कुन पदमा काम गर्नुभएको ? इगोर लुसिकले भनेछन्, कार्यबाहक प्रधानमन्त्री र पछि प्रधानमन्त्री । इगोरको उत्तर सुनेपछि झस्केका थापाले भनें, त्यसपछि त म ट्वाँ परें । बाफरे प्रधानमन्त्री भइसकेको व्यक्ति पनि यसरी पढ्न आउँदा रहेछन् । तुरुन्तै उनको मनमा एउटा तुफान चलेछ, हामीकहाँ को नेता यसरी पढ्छन् ? कहां छौं हामी ?

उनका अर्का सहपाठीको रुपमा जापानका कम उमेरका अर्बपति पनि छन् । 


कुराकानी सकेर टक टेबलबाट उठ्ने तरखर हँुदै थियो । थापाले आफ्नो रोजाईका केही किताब हार्भड कुपमा किने । अनि ती किताब कोखामा च्याप्दै सोधे, बच्चाहरुले पढ्ने किताब कता छन् ? उनले देखे त्यहां एउटा पुरै फ्लोर बच्चाका किताबले भरिएका रहेछन् । उनी खोजेकै ठाउंमा पुगे जसरी खुशी भए । उनले छोरी गार्गीलाई सम्झिए, उसलाई किताबबाट छुटाउनैं सकिंदैन, पढ्न शुरु गरेपछि किताव सक्नैं पर्ने उनको बानी छ । त्यहां छोरीका लागि उनले बालकथाका केही पुस्तक किने । करिब डेढघन्टा बसेर हार्भड कुपबाट निस्कंदा आफु र छोरीका लागि समेत किताबको झोला बोकेका थापा प्रसन्न देखिए ।


एकाग्र पढाइ 

नेपालमा छँदा व्यस्त दैनिकीमा समय निकाल्न गाह्रो थियो । अहिले थापाको विहान आठ बजेदेखी साँझको ५:३० सम्म दैनिक लेक्चर सुन्ने र अन्तरक्रियाहरु गर्ने दैनिक तालिका छन् । प्राध्यापकले दिएका पाठ्य सामाग्रीमा तयारी नगरी अर्को दिन छलफल गर्न र लेक्चर बुझ्न गाह्रो हुन्छ । उनले भने, प्रत्येक दिन दिइने कुनै पनि रिडिंग मिस गरेको छैन ।  समयको उच्चतम उपयोगका लागि उनी एकान्तवास नैं बस्ने गरेका छन् । त्यसो त प्रवासी नेपालीको जनघनत्व बढिभएको ठाउँमा लोकप्रिय नेतालाइ भेट्ने रहर धेरैलाई हुन्छ नैं । तर पढ्नका लागि आएका थापाको पहिलो प्राथमिकता पढाइ नैं छ । उनलाई पढाइमा यस्तरी डुबिएला जस्तो लागेको थिएन । यहाँको माहोल ज्ञानको सागर जस्तो लाग्यो, थापाले भने, यहाँ आएपछि कति कम जानिएको रहेछ जस्तो लाग्यो ।

(Note: This story was originally published at www.nepalkhabar.com on April of 2019.)

Friday, December 11, 2020

View from Mt. Washington, New Hampshire