Tuesday, April 23, 2013

बोष्टनमा बम पडकाउने लाइभ पक्राउ


 दिनेश कार्की

बोष्टन, ७ वैशाख। झण्डै सय वर्ष भन्दा अगाडिदेखिचल्दै आएको बोष्टन म्याराथुनमा भएको पहिलो विस्फोटको घटनालाई विश्वले जसरी लाइभ हेरेको थियो,त्यसै गरी घटनाका प्रमुख आरोपिलाई पनि बोष्टनको प्रहरीले लाइभ नैं पक्राउ गरेको छ। जहिले पनि शान्तिपूर्ण तरिकाले सम्पन्न हुने म्याराथुन बोष्टनसिटीले आफ्नो शानको रुपमा हेर्दै आएको थियो।

विश्वले हेरिरहेको म्याराथुनमा तीन व्यक्तिको मृत्यू र सैयौं व्यक्ति घाइते भएको घटनाबाट बोष्टनका सबै विस्मित भएका थिए । राष्ट्रपति बाराक ओवामाले घटना लगत्तै दिएको एक बक्तव्यमा घटना कसले गरायो र किन गरायो भन्ने कुराको गहिराइसम्म पुग्ने बताएका थिए। तर घटनाका दोषी ५ दिनभित्र पक्राउ गरेको विश्वले लाइभ हेरिरहेको घटनाबाट अमेरिकी शान फेरी उँचो भएको छ। विस्फोट घटनाका आरोपी जिउँदै पक्राउ परेको अबस्थामा उक्त आक्रमण कोबाट र किन सञ्चालित छ भन्ने पत्ता लगाउन सम्भव भएको छ।बेलुका सुत्नुअघिसम्म बोष्टन म्याराथुनमा बम पड्काउने दुइ शंकास्पद व्यक्ति भनेर धमिलो फोटो मिडियामा सार्वजनिक भएको थियो । भोलीपल्ट विहान उठ्ने वित्तिकै क्याम्पसबाट यस्तो एसएमएस आउँछ, रेल, बस लगायत सम्पूर्ण सार्वजनिक यातायातका साधन बन्द भएकाले अर्को सूचना जारी नभएसम्म आजका सम्पूर्ण कक्षाहरु रद्ध भएको जानकारी गराइन्छ । विहानी कक्षा र साझको सिफ्टमा काम, मेरो शुक्रबारको नियमित दैनिकी नै थियो । अचम्म मान्दै बोस्टनका समाचार साइटहरु हेर्दा पो थाहा भयो, अपराधीलाई लुकेको ठाऊँबाट पक्रिनका लागि बोष्टनका तीन साना शहर र सार्वजनिक यातायात बन्द गरेको रहेछ यहाँको प्रशासनले । बोष्टन म्याराथुनमा तीन जनाको ज्यान गएको र करिब २ सय घाइते भएको कुरा आफैंमा त्रासदीपूर्ण थियो भने अपराधीको खाजीका लागि भएको चाँजोपाँजो झन् नाटकीय र फिल्मी लागेको थियो।
क्याम्ब्रिज र वाटरटाउनमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने स्थानीय वासिन्दालाई घरबाट बाहिर ननिस्किने उर्दी जारी गरिएको थियो । शाही शासनको अन्ततिर नेपालमा भएको आन्दोलनमा तत्कालिन शाही सरकारले जारी गरेको कर्फ्र्यूलाई सम्झिन पुगें। नेपालमा त्यतिबेलाको कफ्र्यू जनताका लागि बाध्यात्मक थियो, बाहिर निस्केमा गोली हान्ने आदेश थियो भने बोष्टन प्रशासनले गरेको बन्द एउटा आग्रह र अनुरोध थियो। एउटा अपराधी पक्रिन सारा शहर नैं बन्द गरेर खोजी गरेको यो सम्भवत पहिलो घटना होला । क्याम्ब्रिज, बेलमोन्ट र वाटरटाउनका वासिन्दाले घरबाहिर ननिस्किएर प्रहरीलाई सघाए। सम्पूर्ण व्यापार र कार्यालयहरु पनि बन्द गरेर प्रहरीलाई सहयोग गर्न प्रशासनले आग्रह गरेको थियो। निजी गाडिहरुको आवतजावत पनि पूर्णरुपमा ठप्प पारिएको थियो । टेलिभिजनमा म्यानहण्टको लाइभ र समाचारसँस्था तथा पत्रकारका ट्वीटर अपडेट हेर्दैमा विहानको समय कट्यो। च्यानलहरुले प्रवाह गरेको जानकारी अनुसार अघिल्लो राती बोष्टनको प्रख्यात एमआइटी अगाडि भएको भिडन्तमा घटनाका आरोपी २६ वर्षीय तमारलिन सार्नायभ मारिएछन् उनका १९ वर्षीय भाइ जोखार सार्नाएभ चाहिं एउटा गाडि लिएर भागे । मध्यरात अघिदेखिनै ब्यापक सुरक्षाकर्मी तैनाथ भएका रहेछन्। अनि प्रहरी र एफबिआइको सहयोगमा निश्चित क्षेत्रभित्र घटनाका आरोपित रहेको हुनसक्ने क्षेत्रलाई घेरा हालियो ।
वाटरटाउनको एक अपार्टमेन्टको भूईतल्ला अगाडि आलो रगत देखेको एक महिलाले जानकारी गराएपछि विशेष हातहतियार सहित सुसज्जीत प्रहरीको विशेष तालिमप्राप्त स्वाट टिम खोजीमा जुट्यो । गाडिका गाडि सुरक्षाकर्मी, प्रहरीको गाडिका साइरन, यो नैं बोष्टनको नियती भएको थियो । शुक्रबारका दिन ब्यापक भिडभाड रहने शहरहरु यती शून्यप्राय थिए कि समाचारकर्मीहरुले घोष्ट टाउन अर्थात भूताहा शहरको संज्ञा दिइरहेका थिए। जुन घरमा आलो रगतको संकेत पाएर सूरक्षाकर्मीहरु छिरेका थिए, त्यहाँ केही भेटिएन।
मेयर, गभर्नर, पुलिस कमिसनरहरुले घटनाको दोषीको साथमा घातक गोलाबारुद पनि रहेको र जस्तोसुकै जानकारी पाएपनि तुरुन्त ९११ मा फोन गर्न भनिरहेका थिए। चाहे मिडियाबाट होस वा चाहे सामाजिक संजाल ट्वीटरबाट होस्, उनीहरु सूचना प्रवाह गर्न व्यस्त देखिन्थे । टेलिभिजनले लाइभ प्रसारण गरिरहँदा ब्यापक चासो र त्रास सर्वसाधारणका मनमा मडारिरहेको थियो । भिडन्तमा सार्नायभ दाजुभाइले एमआइटीका सुरक्षाकर्मीको ज्यान लिएका थिए भने सार्वजनिक यातायात एमबिटिएका सुरक्षाकर्मीलाई घाइते बनाए। बोष्टन प्रहरी, फेडरल व्यूरो अफ इन्भेष्टिगेशन र सैनिक प्रहरी घटनाको दोषी भेट्टाउन घटना भएको दिनदेखी नैं बेतोडले लागिपरेका थिए। वाटरटाउनमा गरिएको खोजीको लाइभले परिस्थितिलाई अफ्ठ्यारो पार्नसक्ने देखेर हुनसक्छ, मिडियालाई त्यहाँको प्रसारण नगर्न आग्रह गरियो। लोकल च्यानलहरु क्याम्ब्रिजमा गरिएको सर्च अपरेशनमा केन्द्रित भए ।
लाइभ हेर्दा हेर्दै दिऊँसोको दुइ बज्यो, तीन बज्यो घटनाका आरोपि भनिएका सार्नायभ पक्राउ परेनन् । त्यो वीचमा समाचार च्यानलहरुले सार्नायभ दाजुभाइलाई चिन्ने उनका साथीभाइ र काकाहरुसँग अन्तरवार्ता र टेलिफोन कुराकानी गरिरहेको थियो । अमेरिकामैं बस्ने तीनका काकाहरुले उनीहरुसँग भेट नभएको लामो समय भएको र उनीहरुसँग आफ्नो राम्रो सम्बन्ध नभएको बताएका थिए । बोष्टनमैं बस्ने एक काकाले त उनीहरुलाई मुस्लिम अतिवादमा विश्वास राख्ने भन्दै उनीहरुको आलोचना गरेका थिए । उनीहरुका साथीहरुले भने सार्नायभ मिलनसार, राम्रो पढ्ने र एकपटक क्याम्ब्रिज सिटीबाट छात्रावृत्ती पाएको भन्दै अपराधीक गतिविधीमा संलग्न भएको देखेर आश्चर्य प्रकट गरेका अन्तरवार्ताहरु बज्न थालेका थिए । हुनपनि फोटो हेर्दा शारिरीक रुपमा उनीहरु आकर्षक र्नै देखिन्छन् । शारिरीक आकर्षण र दिमागी क्षमतालाई अपराधिक मनोवृत्ती सँग जोडेर हेर्नु भूल हुनेछ । दिउसो भरी अपराधी कहिले हरियो कलरका होण्डा सिआरभी त कहिले एसयूभीमा मा चढेर गएको हुनसक्ने भन्ने खालका सुचनाहरु जारी भए । म बस्ने बोष्टनको क्वीन्सी सीटीमा भने बाहिर ननिस्किने उर्दी थिएन । बाहिर गाडिहरुको आवतजावत राम्रै भइरहेको थियो । अन्तत: प्रहरीले त्यो सूचना सही नभएको भन्यो । करिब ५ बजेतिर सार्वजनिक यातायातका साधन चल्ने सूचना प्रेस व्रिफिंग मार्फत दिइयो । दिनभरी त्यत्रो नाटकीय कसरत हेरेर पनि घटनाको दोषी पक्राउ नपरेको देखेपछि अलि झुर लागिरहेको थियो । पछि ट्वीटर अपडेटबाट सार्नाएभ पक्राउ परेको थाहा पाएपछि हतारहतार लाइभ समाचार हेर्न थालियो । अन्तत तीस घण्टा लामो कडा शैनिक अपरेशन पछि बोष्टन म्याराथुनमा आततायी हमला गर्ने दुइ मध्ये एक प्रहरीको कब्जामा परेका छन् । प्रेस ब्रिफिंगमा दिइएको जानकारी अनुसार हेलिकोप्टरबाट इन्फ्रारेड विकिरणको माध्यमबाट सार्नाएभ डुंगामा लुकेको पत्ता लागेको थियो । शहरलाई सम्पूर्ण रुपमा यसरी बन्द नगरिएको भए सूरक्षाकर्मीहरुलाई दोषीसम्म पुग्न हम्मे हुन्थ्यो । वाटरटाउनको एउटा घरको छाडिपट्टी राखिएको डुंगामा लुकिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो। पक्राउ परेलगत्तै बोष्टनमा स्थानीय बासिन्दाहरुले अमेरिकी झण्डा फहराउने र युएसए भन्दै नारालगाएको दृष्य लाइभमा देखियो। बोष्टनका मेयर थोमस एम मेनिनोले सार्नायभ पक्राउपछि थ्यांक गड, वी गट हिम भनेका थिए।
(पत्रकार दिनेश कार्की वोष्टनमा अध्ययनरत छन्)
(As published in hamrakura.com, a nepal based online news media)

No comments:

Post a Comment