Thursday, December 3, 2020

एप्पलमा काम गर्ने नेपाली

 ड्रिम जब याट एप्पल 

दिनेश कार्की 

सानफ्रान्सिस्को (अमेरिका) 

सन्सारकै सबैभन्दा प्रतिष्ठित प्रविधिब्राण्ड मध्येको एक सिलिकन भ्यालीमा अवस्थित एप्पल इंकमा कति जना नेपाली काम गर्लान् ?  एप्पलका लागि करारमा वा उपकरारमा काम गर्नेहरुको संख्या धेरै हुन सक्छ तर पूर्णकालीन अर्थात फूलटाइम कर्मचारीका रुपमा भने करिब ३० जना नेपाली कार्यरत रहेका छन् । 

एप्पलको व्यवस्थापनको उच्च तहमा कुनै नेपाली कार्यरत नभएपनि प्रविधितर्फ भने नेपालीहरु गर्वगर्ने लायककै पदमा कार्यरत रहेका छन् । केही समय अघि एप्पलमा जागिर खाने नेपाली कर्मचारीहरुको भेलाबाट यो सँख्या करिब ३० जति भएको त्यहाँ कार्यरत सफ्टवेयर इन्जिनियर क्षितिजराज लोहनीले बताए । लोहनीका अनुसार अहिले केही नेपाली विद्यार्थीहरु एप्पलमा इन्टर्नसीपको लागि आएका छन् । 

एप्पल इन्कमा सफ्टवेयर इन्जिनियरको रुपमा कार्यरत नुवाकोटका लोहनीका लागि यो जागिर ड्रिम जब नैं थियो । ठ्याक्कै एकवर्ष अघि यो कम्पनीमा जागिर पाउना साथ पेशाकर्मीहरुबीच लोकप्रिय सामाजिक सञ्जाल लिंकडइनमा एउटा स्टाटस राखे, एप्पलमा भर्खर काम गर्न शुरु गरें, ओ माइ गड, म मेरो कम्पनी, टिम र मेरो जिम्मेवारीलाई मायाँ गर्छु । 

बष्टनको नर्थ इष्टर्न युनिभर्सिटीबाट चार वर्षअघि कम्प्यूटर साइन्समा ब्याचलर्स गरेका लोहनीले पेपल र गोल्डम्यान स्याक्सहुँदै एप्पल पुगेका हुन् । लगानी व्यवस्थापन र सेक्यूरिटिजको क्षेत्रमा अग्रण गोल्डम्यान स्याक्समा काम गर्दा उनलाई धेरै चाप महसुस हुन्थ्यो कामको । त्यतिबेला उनी अहिलेको बहुचर्चित क्रिप्टोकरेन्सी डेटालेक टिमका लागि काम गर्थे । 

कुनै दिन उनी पनि एप्पलमा काम गर्नेछन् भन्ने लोहनीलाई लागेको थिएन । उनले भने, त्यहाँ काम गर्ने रहर थियो तर एप्पल, गुगल र फेसबुकमा खत्राखत्रा मान्छे काम गर्छन् जस्तै लाग्थ्यो । न्यूयोर्कको वालस्ट्रिटस्थित अतिव्यस्त गोल्डम्यान स्याक्समा काम गर्ने थालेपछि भने मलाई एप्पलमा जागिरका लागि आवेदन दिने आँट आयो । ५ चरणको अन्तरवार्ता सफलतापूर्वक सम्पन्न गरिसकेपछि भने लोहनीले कम्पनीको आइफोन विभागमा काम शुरु गर्न थाले ।

 

प्रविधिको विश्वस्तरको राजधानी मानिने सिलिकन भ्यालीमा काम गर्न धेरै प्राविधिकले हत्ते हाल्नुका पछाडि पहिलो कारण कमाइ हो । त्यसभन्दा पनि बढि जागीर र जीवनको सन्तुलन अर्थात वर्क लाइफ व्यालेन्स हो, लोहनीले थपे, मलाई चुनौतिहरु मन पर्छन्, यहाँको काम गर्ने बातावरणले चुनौतिलाई अंगाल्न सिकाएको छ । लोहनीले सबैभन्दा अग्लो स्थान(असीहजार फिट)बाट नर्थ इस्टर्न युनिभर्सीटीमा पढ्दै गर्दा नेपाली राष्ट्रिय गान बजाएर र नेपाली झण्डा फहराएर चर्चामा आएका थिए । केही न केही कुरामा कीर्तिमान राख्नुपर्छ भन्ने विश्वास बोकेका क्षितिजले यसअघि न्यूयोर्क स्थित रेकर्डसेटर नामक सँस्थामार्फत रसायन शास्त्रको पिरियोडिक टेबल लगायत अन्य पाँचवटा विषयका शब्द उल्टोपाल्टो जताबाट सोधेपनि भन्न सक्ने गरि स्मरण गरेका थिए र कीर्तिमान पनि राखेका थिए । त्यसो त २०६१ सालमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को आयोजनामा त्यस्तै १२५ वटा शब्दहरु जताबाट सोधे पनि भन्न सक्नेगरी राष्ट्यि कीर्तिमान राखेका थिए ।


सिनियर डेटा साइन्टिस्ट नेपाली 

तपाईं हामीले बोक्ने आइफोन र म्याकबुकका अकाउण्टको सुरक्षा पनि नेपाली इन्जिनियरले गर्छन् । एप्पलमा सिनियर डाटा साइन्टिस्टको रुपमा कार्यरत सुनिल खनाल त्यहाँको मसिन लर्निंग इन्जिनियर हुन् । एप्पलका अनलाइन अकाउण्टलाई ह्याक गर्न सबैतिरका खुंखार ह्याकरहरु प्रयत्नशील रहेका हुन्छन् । खनाल जस्ता मसिन लर्निंग इन्जिनियरको काम भनेको ह्याकरको प्रयासलाई बिफल पार्नु हो । जोखिमलाई पहिचान गरेर उनीहरुलाई मेसिन लनिंगको सहायताले ब्लक गर्ने गर्छु, खनालले भने, यस्तो गर्न पाउँदा मलाई एकदम रमाइलो लागिरहेको छ । कम्प्यूटर साइन्समा स्ट्याण्डफोर्ड युनिभर्सिटीबाट स्नातक र कोलम्बिया युनिभर्सिटीबाट स्नातकोत्तर गरेका खनालले बुढानिलकण्ठबाट ए लेभल गरेका हुन् । खनालको घर काठमाण्डुको स्वयंभू हो । खनाल जस्ता सिनियर डेटा साइन्टिस्टहरुले सुरक्षाको विषयमा चाल्ने कदम र निर्णयहरुको निर्णयहरुको प्रभावकारीता बढि हुने गर्छ । किनभने यसले नैं निर्धारण गर्छ एप्पलका संवेदनशील उत्पादनहरुको भरपर्दोपना । प्रयोगकर्ताको डाटा र डिभाइस(म्याक, आइफोन, आइप्याड आदि)को सुरक्षा संवेदनशील विषय हुन् । त्यसकारण सँधै प्राविधिक गल्तीकमजोरी र त्यसबीचको ग्यापलाई बुझेर मेहनत गर्नुपर्ने हुन्छ र त्यसक्रममा टेस्टिंग पनि धेरै गर्नुपर्छ, खनालले थपे । खनाल अमेरिका भित्र र बाहिर आयोजना हुने आर्टिफिसियल इन्टेलिजेन्स र  सेक्यूरिटी सम्बन्धी विभिन्न कन्फरन्समा भाग लिन एप्पलको प्रतिनिधित्व गर्दै यात्रा गरिरहन्छन् । केही समयअघि नेपालखबरडटकमसँग कुरा गर्दा खनााल क्यानडामा हनुे एनआइएक्स कन्फरन्सको तयारी गर्र्दै थिए ।


नयाँबानेश्वर काठमाण्डुकी अदिती अधिकारी पनि एप्पलकी मेसिन लर्निंग इन्जिनियर हुन् ।  उनी भौगोलिक नक्सासम्बन्धी एप्पल म्याप्समा कार्यरत छिन् । 

बायालोजी पढेर दन्तचिकित्सक बन्ने हाइस्कुले सोच भएपनि डेटा साइन्स, कोडिंग र डेटा माइनिंगमा रस बस्न थालेपछि आफ्नो करिअर कम्प्यूटरमा बनाउने निधो गरिन् । सन् २०१७ मा युनिभर्सिटी अफ इलिनोइबाट ग्य्राजुएट गरेकी उनी इन्टर्नसीपको लागि एप्पल छिरेकी थिइन् । इन्टर्नसीप सकिदानसकिदै मलाई जागिरको लागि अफर आयो, आफ्नो उपलब्धी यसरी सुनाइन् अधिकारीले । यत्ती छिट्टै एप्पलबाट जागिको अफर आउला भन्ने उनलाई लागेको थिएन । त्यसो त अदितिले सिंगापुरको एउटा रिसर्च कम्पनीमा पनि केही समय काम गरेकी थिइन् । त्यसभन्दा अघि नेपालमा सबैभन्दा धेरै आइटी इन्जिनियरहरुलाई रोजगारी दिने सूचना प्रविधि उद्यमी डा रुद्रराज पाण्डेको डियर वाकमा पनि इन्टर्नसिप गरेकी थिइन् । 

विभिन्न कम्पनीमा कार्यरत पेशाकर्मीहरुको तलव अनुमान गर्ने र नयाँ भ्याकेन्सी प्रकासित गर्ने वेवसाइट ग्लासडोरका अनुसार एप्पलमा काम गर्ने इन्जिनियरको तलव वार्षिक ७५ हजार डलरदेखी १ लाख ७२ हजार डलरसम्म हुने गर्दछ । बोनस र अन्य सुविधासहीत एप्पलका इन्जिनियरले वर्षको १ लाख ३० हजार डलर बुझ्ने अपेक्षा हुन्छ । 

आक्रामक एप्पल

सन २००७ मा १०० बिलियन डलर नेटवर्थ रहेको एप्पल सन २०१८को अगष्टमा एप्पल १ ट्रिलियन डलर नेटवर्थ हुने पहिलो कम्पनी हो । विश्व व्यापी रुपमा सञ्जाल रहेको यो भीमकाय कम्पनीहरेक वर्ष आक्रमक ढंगबाट नयाँ नयाँ उत्पादन र सेवाहरु लिएर आइरहेको छ । यसै क्रममा आजैबाट शुरु हुने गरी कम्पनीले नयाँ एप्पल टिभी एप सय वटा देशमा एकैचोटी सार्वजनिक गरेको छ । यो एपमा चर्चित शोहरु, एप्पल टिभी च्यानलका फिल्महरु, आइट्यून र एकसय ५० भिडियो एप्लिकेशन हुने कम्पनीले जनाएको छ । 

(This Story was first published on May 2019 at www.nepalkhabar.com)


No comments:

Post a Comment