दिनेश कार्की
बोष्टन (अमेरिका), पृथ्वीलाई निरन्तर अबलोकन गरिरहेका चारबटा भूउपग्रहको ४० वर्षदेखिका तथ्यांकलाई प्रयोग गर्दै एक नेपाली बैज्ञानिकले पृथ्वीको तापमान नाप्ने नयाँ गणितिय विधी एल्गोरिदमको विकास गरेका छन् । नेशनल एरोनोटिक्सस एण्ड स्पेश एडमिनिस्ट्रेशन (नासा)को जेट प्रपल्सन ल्याबमा कार्यरत रही नेपाली बैज्ञानिक डा नबिनकुमार मालाकारले यससम्बन्धी शोध प्रकाशित गरेका छन् । आइइइइ ट्रान्जाक्सन एण्ड जियो साइन्समा डा मालाकार मुख्य लेखक रहेको शोधमा अन्य ४ जना सहायका शोधकर्ता रहेका छन् । यो शोधको उपलब्धीका कारण एउटै गणितिय विधिबाट भूउपग्रहबाट प्राप्त तस्वीरको आधारमा पृथ्वीको विभिन्न स्थानको तापमान नाप्न सहज भएको छ ।
यसअघि फरक फरक भुउपग्रहबाट प्राप्त तथ्यांकलाई फरक फरक किसिमबाटै हिसाब गरेर मान (भ्याल)ू पत्ता लगाइन्थ्यो,भौतिकशास्त्रका शोधकर्ता डा मालाकारले भने, यो एल्गोरिदम पृथ्वीको तापमान जोडिएका तमाम विषयवस्तुमा विश्वव्यापी रुपमैं प्रयोग हुनसक्छ । तापमान हिसाबकिताव गर्ने काममा यसले एकरुपता ल्याएको छ, मालाकारले भने ।यसअघि अप्टिकल डाटा मात्र उपलब्ध हुने गरेकोमा डा मालाकारको शोधको सफलता पछि अब थर्मल डेटा प्रयोग गर्न सकिने भएको छ । उनले भने, सतहमा मापन गरिएको डेटा र स्याटलाइटबाट लिइएको डेटा क्रस भ्यालिडेशन गर्दा मेल खान्छ ।
यो बैज्ञानिक शोधलेख प्रकाशित भएपछि बैज्ञानिक समूदायबाट राम्रो प्रतिक्रिया आएको डा मालाकारले बताए । जलवायू परिवर्तनमा पनि यो एल्गोरिदम प्रयोग हुनसक्ने मालाकार बताउँछन् । विगत ४० वर्षमा कुन कालखण्डमा पृथ्वीको तापक्रम कसरी परिवर्तन भएको छ भन्ने तुलनात्मक अध्ययन पनि यसबाट गर्न मिल्ने डा मालाकारको ठहर छ । भूसतहको तापक्रमलाई तापसँगसम्बन्धित महत्वपूर्ण विषयवस्तु जस्तै शहरी जनसंख्यामा बढ्दो तापक्रम (हिट स्ट्रेस)को असर, भेक्टरजनित रोगहरुको अध्ययन आदिमा प्रयोग गर्न सकिने प्रकाशित शोधपत्रमा जनाइएको छ । यसैगरी भूसतहको तापक्रमको दीर्घकालीन ट्रन्ड आँकलन गर्न पनि यो विधि सहायक हुने शोधमा उल्लेख छ ।
युनाइटेड स्टेट्स जियोलोजिकल सर्वे (यूएसजीएस)को चारवटा भूउपग्रह (ल्याण्डस्याट)ले पृथ्वीलाई १ सय मिटरको रिजोल्यूसनमा अबलोकन गरिरहेको थियो । शोधका क्रममा ती चारबटा भूउपग्रहह(ल्याण्डस्याटहरु) नंबर ४, नंबर ५, नंबर ७ र नंबर ८ बाट प्राप्त तस्वीरका तथ्यांकलाई मिहिन ढंगबाट विश्लेषण गरिएको थियो । यी भूउपग्रहहरु विभिन्न समयमा यूएसजिएसले प्रक्षेपण गरेको हो । जस्तै भूउपग्रह ४ सन १९८२ मा प्रक्षेपित गरिएको थियो भने भूउपग्रह ७ सन १९९९ र भूउपग्रह ८ सन् २०१३ मा पृथ्वीको कक्षमा पठाइएको थियो ।
पृथ्वीका जीवन र जलवायूका लागि तापमान निकै संवेदनशील विषय हो । बनजंगल फडानीको निरिक्षण गर्न पनि मेरो अनुसन्धानले विकास गरेको विधि काम लाग्छ, मालाकार थप्छन्, किनभने जहाँ रुख काटियो त्यहाँको तापक्रम बढि देखिन्छ र रुखहरु भएको ठाउँमा स्वभाविक रुपले तापक्रम कम हुन्छ । मानवजनित क्रियाकलापले भूमण्डलीय पर्यावरणलाई कस्तो असर गरेको छ भन्ने विषयको सुक्ष्म अध्ययनको लागि पनि डा मालाकारले विकसित गरेको प्रविधि सहायक सिद्ध हुनेछ । डा मालाकारले विकसित गरेको विधि खेतियोग्यजमिनको उत्पादनशीलताको दर परिवर्तन छ कि छैन भनेर विश्लेषण गर्न पनि प्रयोग गर्न सकिने उनी बताउँछन् । बालीनालीको बिमा गर्ने ठूल्ठूला बिमा कम्पनीहरुले पनि हाम्रो विधिलाई प्रयोग गर्न सक्छन् जस्ता् कि सिजनको अन्तमा कति उत्पादन हुन्छ भन्ने निक्र्यौल गर्न सक्नेछन् । विश्वविद्यालयमा प्राध्यापनका साथसाथै हाल उनी स्याटेलाइटबाटै प्राप्त तथ्यांकको आधारमा हावामा हुने एरोसोलको अध्ययन अनुसन्धान गरिरहेका छन् ।
को हुन् मालाकार
अहिले पृथ्वीको तापमान हिसाब गर्ने विधि पत्ता लगाएर ख्याति कमाइरहेका मालाकारले त्रिभूवन विश्वविद्यालयमा मास्टर्स गर्दा भने ब्ल्याक होलको बारेमा शोध गरेका थिए । उनलाई नेपालका अन्तर्राष्र्टिय ख्यातिप्राप्त भौतिकशास्त्री उदयराज खनालले गाइड गरेका थिए । विज्ञानमा जे अनुसन्धान गरेपनि त्यसले समाजलाई प्रभाव पार्नेखालको हुनुपर्छ भन्ने सोच त्यतिबेलै भएको डा मालाकार बताउँछन् । भन्छन्, फिजिक्समा शोध गर्छु त भन्ने थियो तर के गर्ने भनेर स्पस्ट मार्गचित्र मसँग थिएन ।
नेपालको त्रिभुवन विश्वविद्यालयबाट भौतिक विज्ञानमा मास्टर्स गरेका मालाकारले युनिभर्सिटी अफ न्यूयोर्क अल्बानीबाट सन् २०११मा भौतिक शास्त्रमा विद्यावारिधी गरेका थिए । उनी विगत एकवर्ष यता म्यासाच्यूसेट्सको उस्टर स्टेट युनिभर्सिटीमाभौतिक विज्ञानका सहायक प्राध्यापकको रुपमा कार्यरत छन् । त्यस अघि उनी पोष्ट डक्टोरल शोध बैज्ञानिकको रुपमा नासाको जेट प्रपल्सन ल्याब, क्याल्टेक कयालीफोर्नीमा कार्यरत थिए जहाँ उनले नासाकै विभिन्न भूउपग्रह जस्तै मोडिस, भिआइआइआरएस लगायतका तथ्यांकबाटपृथ्वीको भूसतहको तापक्रमका बारेमा बिभिन्न शोध अध्ययनहरु सम्पन्न गरे ।
उच्चशिक्षा अध्ययनका लागि अमेरिका आउनुअघि मालाकार हिमालयन ह्वाइटहाउस कलेजमा फिजिक्स पढाउँदथे । मकवानपुरको हेटौंडामा जन्मेका नबिन मालाकारले भुटनदेवी माविबाट एसएलसी गरेका थिए । भुटनदेवी मावीका शिक्षकहरुको प्रेरणाकै कारण आफू भौतिक विज्ञानको शिक्षामा आकर्षित भएको मालाकार बताउँछन् ।
No comments:
Post a Comment