दिनेश कार्की
नारायण वाग्लेको कोरियाना कफी गफ प्रकाशित भएयता यो कितावलाई लिएर त्यसबारेका धारणाहरु प्रशस्तैआइसकेका छन् । नारायण वाग्लेले आफ्नो कफीगफलाई कोरियाको परिवेशमा लेखेका कारण कोरियाना कफी गफ नाम दिए । र, म अमेरिकामा बसेर उनको कफी गफसँग सम्बाद गर्दैछु, त्यसैले यो संग अमेरिकाना संवाद भन्ने आँट गरें ।
कुनै लेखकको किताव पढिरहँदा सहमत असहमत हुनु वा नयाँ कुराले पुलकित हुनु त छँदैछ । तर कुनै पुस्तकले मानसपटललाई एउटा वेग्लै कल्पनाशीलतामा पुर्याइदिन्छ । हो, त्यही काम गर्छ कोरियाना कफी गफले पनि । किताब पढेर सकिइसकेको हुँदैन, वाग्लेले चिजविजलाई जसरी हेरेका हुन्छन्, त्यस्तै किसिमले हेर्न सिकाउँछन् । छोटा छोटा वाक्य र शब्दलाई बुन्ने जस्तो शिल्प छ, त्यस्तै वाग्यहरु फुर्न थाल्छन् । पानीका फोकाजस्ता ति क्षणभंगुर वा अल्पजीवित र्नै किन नहून् । किताब पढिन्जेल र पछि पनि तीनले तानिरहन्छन् ।
लैंगिक संवेदनशीलतामा लेखक सचेत छन् । पुरुष र महिलाको कुरा चल्दा तेस्रो लिंगीलाई छुटाउन चाहँदैनन् । संसार पुरुष र स्त्रीले मात्र बनेको छैन, तेस्रो लिंगीको पहिचान पनि छ त्यहाँ भनेर तेस्रो लिंगीलाई पहिचान दिने कसरत छ कितावको भाग सातको पहिलो वाक्यमैं, दुखहरु भएका पहाड लुगा लगाएको पुरुषजस्तो हुन्छ वा महिला वा तेस्रो लिंगी ।
वाग्लेको भित्री चेत विज्ञानको विद्यार्थी जस्तो, वा विज्ञानको जिज्ञासू जस्तो । धेरै ठाउँमा वातावरण, प्रकृति आदिको बारेमा चिन्ता जताईको छ । कतिपय ठाउँमा लेखक विज्ञानका तथ्य भनाइलाई सापट लिंदै आफ्नो भन्नुपर्ने कुरामा बल थप्छन् । लेख्छन्, विज्ञान भन्छ, रुख र मानिसमा फरक छैन । समयको अन्तरमात्र । वाग्ले यो भन्दा भित्र प्रवेश गर्नुहुन्न भित्र पसेर साध्य पनि छैन । रुख अग्लो हुन्छ, रुखमा धेरै प्रणाली हुन्छन्, र यो किटपतंग, जिवाणु, पदार्थ, हावा पानी आदिको प्रत्यक्ष लगानी संसर्ग इन्टर्याक्सन आदिको एउटा कम्प्लिट प्याकेज हो । त्यस्तै मान्छे पनि उसको वरपरको वातावरण, उसले खाने पिउनेवस्तु, उसको शरिरमा भएका संख्या भन्दा दोब्बर एक कोषिय जीव व्याक्कटेरिया, भौतिक अभौतिक प्रभाव आदिको कम्प्लिट प्याकेज हो । वाग्लेको लेख्छन्, ढुसीको भूमिगत सञ्जाल प्रयोग गरेर अरुसँग बोल्छ, सन्तान र छिमेकीलाई मौलाउन सघाउँछ । यसैले ठोकुवा गरेर भन्न मिल्छ कि वाग्लेमा गहिरो बायोलोजीकल चेत छ । नत्र यो चेत विना सरल ढंगबाट बनस्पती शास्त्रको सिक्रेट वा रहस्यलाई जोकसैले सजिलै सहज ढंगले पस्कन सक्दैन । ती हरफहरुलाई पढ्दै जाँदा यूनिभर्सिटी अफ म्यासाच्यूसेट्स बोस्टनमा वनस्पतिको जिवन वा प्लान्ट लाइफ विषयमा पढेका सान्दर्भिक कुरा याद आए ।
धेरै ठाउँमा जीवन दर्शन छन् । वाग्ले यसो भन्छन्, कारण थाहा हुन सकेन भने परिणाम पर्खिन सक्नुपर्छ । हामी अकारण निष्कर्षमा पुग्छौ र परिणाम अघि नैं पछुताउँछौं । पछुतो हाम्रो जीवनको पुच्छर । पछुतोले पछ्याउँछ । काम गरेपछि पछुतो हुनु पुच्छर नैं हो तर गलत काम गर्ने र गराउने खप्पर चाहिं के हो निं । भनेर लेखकलाई सोध्न मन लाग्छ । अनि यसैमा मानिसको इभोल्यूसनको कुरालाई सम्झन मन लाग्छ । मानवजातीको विकासमा पुच्छरको विस्तार भन्दा खप्परको विकास ज्यादा छ । जसै खप्परको विकास हुदै अहिले यस्तो चकचकी र जगजगी गरिरहेको मान्छेको कुनैबेला पुच्छर थियो भन्ने कुराको निशान केवल पुच्छरे हाड अर्थात कक्सिजिअल भर्टिब्राले दिन्छ । किफायती शब्दहरुको प्रयोग गर्दै गहन कुरा पर्गेल्न लेखक खप्पिस छन् ।
ठाउँ ठाउँमा लेखक पर्यावरण र दीगो विकासका अभियन्ता झै लाग्छन् । जहाँ प्रकृति र जीवनको सामन्जस्यता र निरन्तरताको परिकल्पना गरिएको हुन्छ । लेख्छन, वस्तीहरु भनेका उठ्तीहरु हुन् । उठ्ती शब्द केही रकम र अन्नवाली वा यस्तै आर्थिक महत्वको कुरा संकलन गर्नु जस्तै हो । तर यसलाई बसाउनु भनेको उठाउनु पनि हो जस्तरी बुझ्न सकिन्छ । जसै मानववस्ती झ्यागिंन थाल्छ, त्यसै त्यसै त्यहाँ कतिपय जीवन र वनस्पती स्पिसिजको फेरि कहिल्यै आगमन नहुने गरी उठिबास पनि हुन्छ । प्राकृतिक स्रोत र साधनको दोहन गरेर मान्छेले धेरै अर्थ संकलन वा उठति उठाइरहेको पनि छ । त्यसकारण वस्तीहरु भनेका उठ्ती नैं हुन् कि ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रसंगहरु छन् जताततै, करेन्ट अफेयर्सका किंग हुन् वा हुनुपर्छ सम्पादकहरु । करेन्ट एफेयर्सलाई टुप्पीटुप्पीबाटै तानेर आफ्नो कितावको पेरुंगोमा राख्न सफल छन् वाग्ले । त्यहाँ फेक न्यूजका प्रसंग छन् । ट्रम्पले न्यूयोर्क टाइम्स र सिएनएन लगायतका आलोचक संस्थाालाई आलोचना गर्दै फेक न्यूज शब्दलाई अत्याधीक चलन चल्तीमा ल्याए । वाग्ले भन्छन्, जनसंख्याको दृष्टिले फेसबुक सन्सारको सबैभन्दा ठूलो शक्तिशाली देश हो । वाग्लेको भनाइसँग म पनि सहमत छु । देश पनि एउटा तथ्यांक हो, अर्थात डेटा । फेसबुकमा अहिले यो पृथ्वी ग्रहका सबै देशका डेटा छन्, अमेरिका देखी अजरबैजान र पाकिस्तान देखी पनामा सिटी र जापानदेखी जाम्बियासम्म । त्यस्ता देशका साना डेटालाई सबैलाई आफ्नो यूजरनेम र पासवर्डमा समेट्न सिपालू मार्क जुकरबर्ग त्यही भएर अहिले शक्तिशाली धनी मानिसमध्येका एक हुन् । अहिलेको सञ्सारमा जोसँग डेटा हुन्छ, उही शक्तिशाली हुन्छ । न्यूजरुममैं हेर्नुस्, मेहनती रिपोर्टर जोसँग धेैरै डेटा हुन्छ उही नैं ब्रेकिंग न्यूज दिन सक्षम हुन्छ । तर यो भीमकाय बिग डेटा फेसबुकमा आजकाल पत्रकारका सूचना भूलवश, असावधानीबश, अन्जानमै चुहिन थालेका छन् । उनीहरु कहाँ छन्, कसलाई भेटे र उनीहरुको मानसिक स्थितिको ग्याल्भानोमिटरले कतातिर ढल्किरहेको(डिफ्लेक्सन भइरहेका)े छ भन्ने कुरा पहिले नै फेसबुकमा आइसक्छ । तीनका गतिविधिको डेटा एनालिसिस गर्ने कोही डेटा इन्जिनियरलाई भनियो वा कुनै आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरियाये भने उसले सम्भावित समाचारको खिचडि यस्तो हुनसक्छ भन्ने कुरा पत्ता लगाएन भने मलाई भन्नू ।
वाग्ले लेख्छन्, आँखालाई चारै दिशामा कावा खुवाइवरी मचानैं फर्किएँ । आखामात्र किन, उहाँको सोचले पनि चारै दिशामा कावा खाएको छ यसमा । जहाँ रवि पुग्दैनन् त्यहाँ कवि पुग्छन् भने झैं उनका सोच सर्वत्र वाँकटे हानेर तैरिएको छ । ठाउँठाउँमा गहिरिएको पनि छ ।
कोरियाना कफि गफको अर्को कडि शिवा रिउ पनि हुन् । यदि शिवा रिउलाई नपढ्नुभएको भए तपाईंलाई ति कविवारे गुगल सर्च गर्न बाध्य पार्छ कोरियाना कफि गफले । शिवा रिउ उल्का राम्रा कविता लेख्ने रहेछन् यदि वाग्लेका भनाइलाई सत्य मान्ने हो भने जो जापानी कवि हुन् । शिबा रिउ तिनैं ब्यक्ति रहेछन् जसले पल्पसा क्याफेलाई दक्षिण कोरियामा भित्र्याएका रहेछन् अनुवाद गरेर ।
वाग्लेका जीवनभोगाइबाट निस्केका नौंनीहरु स्वादिला लाग्छन् । ति कोही कोट गर्न पनि मिल्ने, साथमा डायरी वा कुनै नोटप्याड छैन भने पनि न्यापकिनमा सर्रर सारेर कोटकै खल्तीमा पट्याएर हालिहालूँजस्ता लाग्ने वाक्यहरु बग्रेल्ती छन् । वाग्ले लेख्छन्, मानिसको सफलता नैं उसका असफलताहरुको श्रृंखला हो । वाग्ले लेख्छन्, सिकिसकेको लेख्ने होइन, सिक्न लेख्ने हो । तपाईंसँग संवाद गर्दा म केही सिक्न खोज्दै छु । यो कुरो ठिक हो । वाग्लेले हरेक पानैं पिच्छे उनीसँग संवाद गर्ने गतिला ठाउँहरु छोडेका छन् । कतै सही थाप्न मन लाग्छ । उनले घर बनाइदिएको कपासलाई आफैं जाँगरिलो भएर कातिदिन मन लाग्छ । त कहिले ढ्याप्पै किताब बन्द गरेर केमा कसरी म असहमत छु थपक्क बसेर लेख्न मन लाग्छ ।
किताबी होइन, वास्तविक कफि गफकै सिलसिलामा मित्र कृष्ण ढुंगानाले वसन्तको एकदिन भनेका थिए, नेपाली समाजमा अहिले प्रश्नहरु हराउँदै गएका छन् । कुपण्डोलको हिमालयन जाभामा भएको त्यो संवादमा अव्यवश्था थाहा पाउने संवेदनशीलता पनि भुत्ते हुँदै जानु खतरनाक हो भन्ने हामी दुवैको निष्कर्ष थियो । नारायण वाग्ले यहिंनीर जोडिन्छन्, ति कृष्णसँगै लेख्छन्, प्रश्नहरुको सम्मान गर्ने संस्कार बन्यो भने हाम्रा सरकारहरु फेरिन्छन् । वाग्लेले सरकारका प्रतिनिधिको अनुहार भनेका होइनन् सरकार चलाउने तौर तरिका फेरिन्छन् भनेका हुन् । तौर तरिका फेरिएपछि ति नैं घृणायोग्य अनुहारहरु सम्मानयोग्य हुनेछन् । प्रश्न सोध्ने बानी हराएकोले नैं हो सत्ताधारीहरु पनि जवाफदेही छैनन् । प्रश्न सोधे पो उत्तर पाइन्छ । प्रश्नभन्दा बढि रिस उठेकै कारणले होला हाम्रो समाज क्रुद्ध र वेपर्वाह भएको छ । प्रश्न र हाम्रो आदतबारेको वाग्लेको मन्थन अझै सकिएको छैन लेख्छन्, रिस उठ्नुभन्दा प्रश्न उठ्नु राम्रो । रिस त अरुका गल्तीका लागि तपाईंलाई दिएको दण्ड हो भन्छन् । वाग्लेका यस्ता हरफहरु पढ्दै गर्दा यता गोराहरुले आफ्नो लेखन साहित्य आदिमा भन्ने गरेको आहा मोमेन्ट टन्नैं भेटिएला । तपाईंलाई आहा मोमेन्ट नलागेपनि वाग्लेलाई पक्कै लागेको हुनुपर्छ । कोरियाना कफी गफको मलाई राम्रो लागेको अर्को वाक्य यस्तो छ, सबैसँग मिलनसार व्यक्ति साथीसम्पन्न हुन्छ । साथीसम्पन्न कस्तो मिठो शब्द ।
प्रवासमा साहित्यको नौटंकी सँस्थाका प्रतिनिधिहरुबाट सिर्जित रचनाहरु पढेर हामी भन्ने गर्छौ, यीनीहरुले साहित्यमा लागेर योगदान दिनुभन्दा नलागेको भए झन् योगदान हुनसक्थ्यो । किनभने साहित्य एकल साधनाले फस्टाउने विधा हो । आत्मप्रवञ्चनामा लिप्त झुण्डहरुको गूटबन्दीमा साहित्यको खासै लेनादेना छैन । हुनु पनि हुँदैन । वाग्ले लेख्छन्, पाठकसँग सम्पर्क आफैैं गर्ने होइन अक्षरहरुले गर्छन । यो पुस्तकसँग सम्वाद शिर्षक शुरुमैं फुराइसकेको थिएँ पढ्दैजाँदा १० नम्बरको अन्तमा लेखकले भन्दिए । पाठकसँग सम्पकै आफैंले गनेै होइन, अक्षरहरुले गर्छन । अनि वाग्ले फेरि थप्छन्, तपाईं बढ्ता जान्ने हुने होइन, अक्षरहरु आफैं कुरा भन्न जान्दछन् । तपाईंहामीले चिनेका कतिपय लेखकसाहित्यकार यस्ता होलान् जसका अक्षरहरु भन्दा उनीहरुको पाठकमा जाने मनसाय तिब्र हुन्छन् । सामाजिक सन्जालको प्रयोग गर्दै हजारौंलाई ट्याग गर्दै उनीहरुमाझ घुस्न खोज्छन् । अझ त्यतिले नपुगेर म्यासेजमा धरी आफ्ना लेख रचनाका लिंक पठाएर इन्टरनेटमा डाटाका बोझ थप्छन् । ट्याग गर्दिएर तपाईंको फेसबुकको वाल नैं फोहोर पार्दिन्छन् ।
हिंउँदका खराब मौसम कस्तो हुन्छ मलाई सोध्नुहोस खासगरी बस्टनमा बसेको मान्छेलाई । हिउँदे मौसम यो भन्दा खराब भएको ठाउँमा बस्नुभएको छ भने कुरा सुनाउने पालो तपाईंको । कुनै कविको शब्दहरु सापट लिएर वाग्ले भन्छन्, खराब मौसम झ्यालबाट झन् खराब देखिन्छ । बाहिर लगातार हिउँ परेको बेला कतै निस्कन मन लाग्दैन विदाको दिन भए पनि ।
कतैकतै वाग्ले ध्यानी लाग्छन् । कुनै ध्यानस्थ व्यक्ति आँखा खोलेपछि बोल्ने जस्ता कुरा लेख्छन् उनी यो पुस्तकका विभिन्न स्थानमा लेख्छन्, अक्षरहरु आफैं बोल्दैनन् । अक्षरहरुबीचको शून्यतामा पनि यात्रा हुन्छ । एक्काइसौं शताब्दीका ध्यानी दार्शनिक ओशोका वाक्यमा वाग्ले यहिं जोडिन्छन् । ओशोले शब्दहरुबीचको मौनतालाई अनुभूत गर्न सिकाउँछन् ।
यूद्धले धराशायी बनाएको कोरियाली बिभाजन र यसले त्यहाँका नरनारीमा पारेको पीडाको डोबलाई वाग्लेले विभिन्न पात्रमार्फत उजागर गरेका छन् ।
खासमा पल्पसा क्याफे स्तम्भ लेख्न थाले देखी नैं पाठकले वाग्लेको ट्रेन्डी स्वभावलाई चिनेका हुन् । त्यसयता थुप्रैवर्ष विते तर उनको त्यो सामयीकी प्रेम वा ट्रेन्डीपनलाई अहिलेसम्म ज्यूँका त्यूँ कायम राखेका छन् । कोरियाना कफि गफमा वाग्ले एलेक्साको कुरा गर्छन्, त्यसमा गुगल साउण्ड बक्सका कुरा छन्, डाटाका कुरा पनि छन् । त्यतिमात्र होइन स्न्यापच्याट र म्यूजिकल्ली पनि अटाएका छन् त्यहाँ । लेख्छन्, तपाईंको चालमाल र सोचविचार नजिकको प्रहरी चौकीमा मोनिटर भइरहेको हुनेछ ।
कान्तिपुर दैनिकमा फिर्ती प्रधानसम्पादक भएपछि वाग्लेको सम्पादकीय निकै पेचिलो बनेको थियो । निकै चाखलाग्दा र प्रभावशाली सम्पादकीय लेखेर चर्चित बनेका उनी सम्पादकीयको बारेमा यस्तो लेख्छन्, सम्पादकीय कमैले पढ्छन् तर सम्पादकहरु सबभन्दा बढी कन्दै त्यही लेख्छन् । हुन पनि प्राय सम्पादकीयहरु पढ्दा कसरी जटिल बनाउने र कसरी त्यसलाई निरस बनाउने भनेर ठसठसी कन्दै लेखेजस्तो लाग्छ । ति सम्पादकहरुलाइ सम्पादकीय लेख्नैं टन्टा, पाठकलाई त्यो पढ्दा झन् अर्को टन्टा । वाग्लेले लेखेका सम्पादकीय पढ्दा यस्तो लाग्दैन कि उनले बडो सकसका साथ सम्पादकीय लेखेका हुन् । अपितू, ती सरस र सहज हुनेगर्दथे ।
कोरियामा लेखकहरुको आतिथ्य लिन जाँदा दोभाषेको रमाइले प्रसंग वाग्लेले उल्लेख गरेका छन् । लेख्छन्, कुनै शब्दको फाँको हाल्नु र अर्को भाषााको मुखभरीको अर्थको बुझो बक्नु । वाह, मेरै अनुभवसँग मिल्दोजुल्दो । म पनि कानबाट शब्दको फाँको हाल्छु र सकेसम्म जस्ताको तस्तै हुनेगरी मुखबाट बक्छु यहाँ अँगालेको एउटा पेशामा । जति फाँको कानमा हाल्यो, त्यति नै मुखबाट बकेको राम्रो हो, न कम न बेसी । धेरै फाँको एकैपटक हाल्यो भने जस्ताको तस्तै त्यसलाई ओकाल्न मुस्किल पर्छ ।
चराचुरुंगीहरु पनि भुर्र उडेर लेखकको मगजमा आइबस्छन् । गौंथली, तित्रा र कागहरु अगाडि छन्। खानाको प्रसंगमा वाग्ले लेख्छन्, खाना देखे गौंथली गुत्थ परेर बस्दैनन् ।
यो पुस्तकमा आधुनिक शब्दहरुको प्रयोग व्यापक छ । ट्रेन्डी लेखकका विशेषता हुन् यी । ती आधुनिक प्रविधिका शब्द जसरी बाहिर आउँछन्, तिनको खपत त्यसरी नैं हुने गर्छ प्रायजसो भाषामा । जस्तो मोबाइल सोसल मिडिया कल्चर, गुगलम्याप आदि । भाषा स्थिर हुँदैन र समयक्रम सँग अगाडि बढ्ने क्रममा जीवनको मात्र होइन भाषाको पनि इभोल्यूसन हुन्छ । कतिपय शब्दहरु प्रयोग नभएर वा प्रयोगका सान्दर्भिकता हराएर विलाएर जान्छन्, भेष्टिजिअल अर्गान जस्तै । र कतिपय नबआगन्तुक शब्दले भाषामा दरिलो हैकम पनि चलाइरहेका हुन्छन्, जबदस्त हिसाबले । अहिले नेपालमा प्रविधिका चलनचल्तीका शब्द मात्र होइन दैनन्दिनी जीवनमा अंग्रेजी शब्दको प्रयोग बग्रेल्ती हुने गरेको छ। प्रविधिका शब्दलाई एकछिन छोडौं, अहिले नेपालमा शुद्ध नेपाली बोल्ने मान्छे भेट्न मुस्किल छ ।
कोरियाना कफी गफमा केही शब्दहरुको प्रयोग लय मिलाउन वा वान्की परेको देखाउन गरिएको हो कि जस्तो पनि लाग्छ । जस्तै पुतलीफुरी, लिप्ती, घोप्टाशन, सुखाइ आदि । किनभने यी प्रयोगमा त्यति सुनिदैन । तर फेरि अर्को कोणबाट हेर्दा त्यसलाई वाग्लेको भाषा अभ्यासको सिर्जनशीलता पनि मान्न सकिन्छ । जो सुन्दर छ । भाषाबारे अग्रज पत्रकार राजेश कोइरालासँग कहिलेकाही कुराकानी हुन्छ जो न्यूह्याम्सरबाट प्रकाशित हुने अनलाईन अक्षरिकाका सम्पादक हुन् र हिमालखबरका लागि बेलाबेला यताबाट खोजमूलक सामाग्री लेख्छन् । उनले भने, भाषा जति चलायमान भयो त्यति राम्रो । कोइरालाका अनुसार भाषाको सन्दर्भमा नेपालमा दुइथरी मानिस छन्, एकथरी भाषा पहिले जस्तो थियो त्यस्तै रहोस भन्ठान्छन्, त्यसमा परिवर्तन चाहँदैनन् । अर्काथरी भाषामा स्वीकार्य नैं हुननसक्ने गरी अंग्रेजी शब्दको प्रयोग गर्छन् । तीदुवैथरी अतिवाद भाषाको लागि घातक छ, कोइराला थप्छन्, सिर्जनशीलताको सन्दर्भमा उदार हुनुपर्ने कोइरालाको भनाइ छ । जति गतिशील बनायो भाषालाई हामी यसलाई उती नैं समृद्ध बनाउँदै जान्छौं । कतिपय शब्दहरु प्रयोगको सान्दर्भिकता हराउँदै गएपछि विस्तारै ति पनि हराउँदै जान्छन् । कोइराला थप्छन्, ग्राइन्डर आएपछि जाँतो हराउँछ, बुरुसले दतिवन हरायो । प्रयोग नहुने शब्दका ठाउँमा अरु नयाँ शब्दहरुले स्थान ओगट्छन्
(This write up was published on September of 2019 in www.Nepalkhabar.com)
No comments:
Post a Comment